काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपीजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताएका छन्।
भारत सरकारले सो प्रतिवेदन बुझ्नसमेत आनकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने बताएका हुन्।
दुवै मुलुकका सरकारले तोकेका विज्ञहरुको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने जिकिर गरे। आजको आवश्यकताको उचाईको आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि ईपीजी प्रतिवेदनको विकल्प नरहेको उनको भनाइ थियो।
‘ईपीजीको प्रतिवेदनले दिएको सुझावको आधारमा नेपाल भारतबीचको सम्बन्धलाई अगाडि बढाउन जायज हुन्छ। यसले नेपाल भारत सम्बन्धलाई तथ्यका आधारमा अगाडि बढ्न आधार तयार गर्छ,’ उनले भने, ‘सुगौली सन्धिको प्रश्न, १९५० को सन्धिको अनेकौँ प्रश्न छन्। यहाँ त सुगौली सन्धि पो कार्यान्वयन नहुने भइसक्यो। सुगौली सन्धिले महाकाली नदीको उद्गमदेखि पूर्वी भाग नेपालको भन्छ। सुगौली सन्धि नै नहुने भयो। यसले सुगौली सन्धिदेखिको कुरा उठाउँछ।’