काठमाडौं- एसिसी इमर्जिङ टिम्स कपको फाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने भएका छन्। सेमिफाइनलमा भारत ‘ए’ ले बंगलादेश ‘ए’ तथा पाकिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई पराजित गर्दै फाइनलमा एक अर्का विरुद्धको भेट पक्का गरेका हुन्। प्रतियोगितामा नेपाल भने समूहचरणबाटै बाहिरिएको छ। नेपालकै समूहमा रहेको भारत र पाकिस्तानले अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
शुक्रबार श्रीलंकामा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले घरेलु टोली श्रीलंका माथि ६० रनको जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ओमाइर युसुफको ८८ रन तथा कप्तान मोहम्मद हरीस्को ५२ रनको अर्धशतकीय इनिङमा निर्धारित ५० ओभरमा ३ सय २२ रनको स्कोर तयार गरेको थियो। जवाफमा श्रीलंका ४५.४ ओभरमा अलआउट हुँदै २ सय ६२ रनमा समेटियो। ओपनर अभिसका फर्नान्डो र सहान अर्राचिगेले समान ९७-९७ रनको स्कोर बनाएपनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा श्रीलंका पराजित हुन पुग्यो। पाकिस्तानका लागि अर्शद इकबालले ५ विकेट लिएका थिए।
त्यस्तै शुक्रबारनै भएको दोस्रो लो-स्कोरिङ सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ५१ रनले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभरमा अलआउट हुँदै २ सय ११ रनमा समेटिएको थियो। उसका लागि कप्तान यस धुलले सर्वाधिक ६६ रनको इनिङ खेल्दा अन्य ब्याटरले भने गतिलो स्कोर बनाउन सकेनन्। कसिलो बलिङ गरेको बंगलादेशका लागि मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले समान २-२ विकेट लिएका थिए।
२ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेशले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम समालिन नसक्दा ३४.२ ओभरमा १ सय ६० रनमा समेटियो। पहिलो विकेटका लागि मोहम्मद नइम र तनजिद हसनले ७० रनको साझेदारी गरेका थिए। नइम ३८ रनमा आउट हुँदा हसनले ५१ रनको अर्धशतकीय इनिङ खेले। यि दुई बाहेक कप्तान सइ हसनले २२ तथा ममुदुल्लाह मसन जोयले २० रन बनाएका थिए। तर पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा बंगलादेश फराकिलो हार भोग्न बाध्य भयो। भारतका लागि निशान्त सिन्धुले ५ विकेट लिंदा मानव सुथरको नाममा ३ विकेट रह्यो।

