काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाई एनजीओको कार्यपत्र जस्तो भनेकी छिन्।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्ने क्रममा राणाले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदन कुनै एनजीओ आइएनजीओको प्रतिपद्धता पत्र वा कार्यपत्र जस्तै रहेको टिपणी गरेकी हुन्।
‘कांग्रेस देशको एजेण्ड सेट गर्ने पार्टी हो। कांग्रेसले देशको राजनीति कस्तो हुने? अर्थतन्त्र कस्तो हुनेदेखि समाज कस्तो हुने जस्ता कुराहरु देखाउनु पर्छ। तर महामन्त्रीले पेश गरेको प्रतिवेदन हेरेर म अचम्मित भएँ’, उनले भनिन्, ‘प्रतिवेदनमा त्यस्तो दीर्घकालिन प्रभाव पार्ने र पार्टी हाँक्ने कुनै विषय भेटिनँ। यो त एनजीओको कार्यपत्र जस्तो भयो, धेरै कुरा भन्ने तर काम केही नहुने। कार्यक्रमको उपलब्धि के हो? कार्यक्रम थोरै राखौँ तर त्यसलाई पूरा गरौँ।’
आरजुले पार्टीका नेताहरु मन्त्री तँछाडमछाड गर्ने तर मन्त्रालयको काम कसरी हुन्छ भन्ने नबुझ्ने रहेको पनि बताइन्।