मोरङ – नक्कली बाबु बनेर नागरिकताका लागि सिफारिस गर्ने सूर्यहाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत मोरङका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश प्रकाश कोइरालाको इजलासले सोमबार लिम्बुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेशसँगै लिम्बुलाई मोरङ कारागार चलान गरिएको हो।
उनीसँगै धरानका सूर्यबहादुर लिम्बुलाई पनि कारागार चलान चरिएको छ। मोरङ प्रहरीका अनुसार उनीहरु दुवै जनाले नक्कली बाबु बनेर नागरिकताका लागि सिफारिस गर्ने गरेका थिए।
नागरिकता लिने, यस प्रक्रियामा सहभागी अन्य ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ। प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारी झुटो विवरण पेश गरी नागरिकता बनाएको कसूरमा मुद्दा दायर गरेको हो।
अभियुक्तमध्ये सूर्यहाङ र सूर्यबहादुर मात्रै पक्राउ परेका छन्। उनीहरु दुवै जना पूर्व ब्रिटिस लाहुरे हुन्। प्रहरीका अनुसार उनीहरुले नागरिकता बनाइदिएपछि ३५ लाख रुपैयाँ पाउने सहमति भएको थियो। सुरुमा ५ लाख रुपैयाँ हात पारेका सूर्यहाङलाई नागरिकताको काम सकिसकेपछि बाँकी ३० लाख रुपैयाँ उपलब्ध गराउने भनिएको थियो। यसैबीच प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सूर्यहाङले नक्कली बाबु बनेर कास्कीको पोखरा उपमहानगरपालिका–१६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा–१० का २१ वर्षीय रविन गुरुङ र पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगरलाई मोरङबाट नागरिकता बनाइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार लिम्बुले गणेशलाई जेठो छोरो बनाएर सविन लिम्बू, रविनलाई माइलो छोरा बनाएर साजन लिम्बू र प्रशान्तलाई कान्छो छोरा बनाएर सुरज लिम्बूको नाममा नागरिकता दिलाएका थिए।
यसक्रममा नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा–१० का ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा–१६ का २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको उनको भनाइ छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरेसँगै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकाश थपलिया नेतृत्वको टोलीले असार ५ गते सूर्यहाङ लिम्बुलाई पक्राउ गरेको थियो। त्यसैगरि, सूर्यबहादुर पनि धरानबाट पक्राउ परेका थिए।
किर्ते गरी नागरिकताको प्रमाणपत्र लिएको विषयलाई सुरुमा मोरङ प्रशासनले गम्भीरतापूर्वक नलिएको देखिएको छ। तीन जनालाई एकैदिन नागरिकता दिने क्रममा प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चेतनाथ पोखरेलको हस्ताक्षर रहेको छ। हाल पोखरेल लोकसेवा आयोग कार्यालय पोखरामा कार्यरत छन्।