काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एबम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाली कांग्रेसका महामन्त्री द्वेय नेपाली कांग्रेसलाई बधाई दिंदै एक प्रेस बिज्ञप्ति जारी गर्नु भएको छ । गौतमले जारी गर्नु भएको बिज्ञप्तिको पूर्ण अंश यसप्रकार छ :-
बधाई छ नेपाली कांग्रेसलाई
नेपाली कांग्रेसको हिजो साउन २ गतेदेखि केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठकलाई पूर्ण प्रजातान्त्रिकरण गर्ने भन्दैनेपाली कांग्रेसले बैठकका सम्पूर्ण गतिविधि खुला गर्ने घोषणा गर्दै हिजोको बैठकको सम्पूर्ण कारबाही संचार माध्यम मार्फत खुला गरेको छ । यो कार्यकर्ता र नेताहरुको विद्रोहको परिणाम मात्र नभई नेपाली कांग्रेसको संस्थागत निर्णय हो भने नेपाली कांग्रेसको इतिहासमा मात्र हैन नेपालमा रहेका सबै राजनीतिक पार्टीहरुको इतिहासमा पहिलो घटना हुनेछ । यो ऐतिहासिक कामलाई म हार्दिक स्वागत गर्दछु र बधाई दिन्छु । नेपालका सबै राजनीतिक पार्टीहरुले यो कामको सराहना गर्नुपर्छ, स्वागत गर्नुपर्छ र आफ्नो पार्टीको केन्द्रीय कमिटीका बैठकहरुलाई सार्वजनिक रुपमा खुला गर्न तयार हुनुपर्छ ।
नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस पार्टी नेपाली इतिहासको एउटै कालखण्डमा स्थापित भएका राजनीतिक पार्टीहरु हुन । दुबै पार्टीका वीच अनेकौं विषयमा स्थापना कालमा पनि मतभिन्नताहरु थिए र आज पनि छन् । तर निरंकुश राणाशाही शासनका विरुद्धको संघर्षमा संगै नभए पनि एउटै दिशामा संघर्षरत थिए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिल्नु हुँदैन, मिलेर संघर्ष गर्नुहुँदैन र मिलेर सरकार संचालन गर्नु पनि हुँदैन भन्ने मान्यतालाई ३९ वर्ष पछि सर्वमान्य नेता गणेशमान सिंह, महिला नेता सहाना प्रधान र मदन भण्डारीको नेतृत्वमा रहेका पार्टीहरुले तोडेर संयुक्त संघर्षको थालनी गरे । त्यहीँदेखि अहिलेसम्म नेपालका कम्युनिष्ट र कांग्रेसका वीच एकता र संघर्षको आधारमा मिलेर सफलतापूर्वक राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा अगाडि बढ्ने कामहरु भएका छन् । अहिले पनि नेपाललाई लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समृद्ध समाजवादको अवस्थामा विकसित गर्न दुबै पार्टीका वीच एकता र संघर्षको नीतिसंगै अगाडि बढ्न आवश्यक छ । तर नीतिहिन अवस्थामा आफ्ना मूल्यमान्यतालाई वेवास्ता गर्दै सरकार निर्माण गर्ने कामका निम्ति मात्र निर्वाचन र सरकार निर्माण गर्न गठबन्धन गर्ने नीति सैद्धान्तिक, राजनीतिक, संवैधानिक र नैतिक रुपले पनि सही मान्न सकिन्न । संविधानले मार्गदर्शन गरेको समृद्ध समाजवाद निर्माण गर्न अहिले पनि दुबै पार्टीले एकता र संघर्षको आधारमा मिलेर जान जरुरी छ ।
के नेपालका कम्युनिष्ट पार्टीहरुले नेपाली कांग्रेसका महामन्त्री द्वोयले दिएको चुनौतिलाई स्विकार्न सक्लान ? मेरो विचारमा स्विकार्नुपर्छ र केन्द्रीय कमिटीका बैठकहरु व्यवस्थित रुपमा खुला गर्न सक्नुपर्छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाली राजनीतिक क्षेत्रमा लुकाउनु पर्ने, गोप्य राख्नुपर्ने र चुप लाग्नुपर्ने विषय केही पनि छैनन् । अहिले नेपालीहरुको साझा गन्तव्य हो लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद । यो गन्तव्यमा
लुकाउनु पर्ने, गोप्य राख्नुपर्ने कुनै विषय छन् भने भन्न सक्नुपर्छ, लेख्न सक्नुपर्छ र सैद्धान्तिकरण गर्न सक्नुपर्छ ।
धन्यवाद ! गगन र विश्वलाई ! बधाई ! तपाईहरु दुबैलाई !
यदि नेपाली कांग्रेसको आधिकारीक दिशा यही हो भने नेपाली कांगे्रस पार्टीलाई पनि धन्यवाद र बधाई !
३ साउन, २०८०
वामदेव गौतम
अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान