काठमाडौँ / अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर आएका नयाँ पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरेका हुन् ।
उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, प्रहरीको लाठी, डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे । ‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौं । अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन्,’ उनले थपे, ‘हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस । यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौंला ।’
अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती दिए । उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने भन्दै पार्टीप्रतिको आलोचनाका कारण ‘के हो कांग्रेस भनेको’ भन्ने स्थितिमा पुगिसकेको उनको भनाइ थियो ।
मन्त्री महतले सरकार सुशासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताए । उनले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने बताए ।