बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कनिष्ठ चिकित्सकहरु बिहीबारदेखि पाँच दिन लामो हडतालमा छन् ।
सरकारले प्रस्ताव गरेको २ प्रतिशत तलब वृद्धिलाई अस्वीकार गर्दै इङ्ल्यान्डका जुनियर डाक्टरहरु हडतालमा उत्रिएका हुन् ।
यो अहिलेसम्मकै लामो हड्ताल भएको बताइएको छ । तर सरकारले हडतालपछि ६ प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेको छ यधपि उनीहरुले ३५ प्रतिशतसम्म तलब वृद्धिको माग गरिरहेका छन् ।
ब्रिटीश मेडिकल एसोसिएसनले महंगीको तुलनामा प्रस्तावित तलब वृद्धि निकै कम भएकाले आफ्ना सदस्यहरु हडतालमा उत्रन बाध्य भएको बताएको छ ।
सरकार तथा एसोसिएसनबीच भएको वार्ता असफल भएको थियो। स्वास्थ्य मन्त्री स्टीभ बार्कलेले डाक्टरहरूबाट ३५ प्रतिशत तलब वृद्धिको माग अव्यवहारिक भएको र हडतालले बिरामीको सुरक्षालाई जोखिममा पार्ने बताए ।
गिल्फोर्ड सरेस्थित फार्नहाम रोड मानसिक हस्पिटलमा कार्यरत चिकित्सक डा. विजय भण्डारीको भनाइमा कनिष्ठ चिकित्सकहरुको तलब १५ वर्ष अगाडि जस्तो थियो अहिले त्यही हाराहारी छ । महंगी र खर्च अत्यधिक तर तलब कम भएकाले यो हड्ताल गर्नु परेको बताउँछन् उनी । कामको चाप बढेको बढ्यै तर तलब चित्तबुझ्दो नभएको उनको भनाइ छ ।
हडतालका कारण हजारौं ‘अपोइन्टमेन्ट’ रद्द भएका छन् । अहिले सिनियर डाक्टरहरुले आपतकालीन सेवा दिएपनि उनीहरु आँफै आउँदो साता हडतालमा जाँदैछन् ।
एनएचएसमा कार्यरत कन्सल्टेन्टहरुले तलब वृद्धिको माग गर्दै आउँदो २० जुलाई बिहीबार र शुक्रबार ४८ घण्टा लामो हडताल गर्ने घोषणा गरेका हुन् ।
यस अघि सरकारले धेरैजसो नर्सहरुको तलब ५ प्रतिशतसम्म वृद्धि गर्न सहमति जनाएपछि हजारौं नर्सहरु काममा फर्किएका थिए ।
बेलायतमा हडतालमा सहभागी हुने कर्मचारीहरुको तलब काटिन्छ । सम्बन्धित युनियनले गोप्य मतदान गराउँदा बहुसंख्यक सदस्यहरुले हडताल गर्ने पक्षमा मतदान गरेमा मात्र व्यवस्थापनलाई जानकारी दिएर हडताल गर्न पाइने नियम छ । हडतालका कारण सन् २०२२ को अन्त्यदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य प्रभावित हुँदै आएको छ । अहिले विरामीले कुर्नुपर्ने समयमा पनि नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो एक तथ्याङ्कले गत मे अन्त्यसम्म ७० लाख ४७ हजार मानिस नियमित उपचार गर्न पर्खिरहेका देखाएको छ ।