काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रलाई कारवाही गर्न माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछालाई पनि कारवाही गर्न माग गरे ।
‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरू र केही साना कर्मचारीहरूलाई मात्र सरकारले ध्यान दिएको देखिन्छ,’ उनले भने, ‘व्यापारी र सरकारलाई राजश्व तिरेर किन्नेलाई कारबाही गर्ने, व्यवस्थापन गरेर जग्गा बिक्री गर्नेलाई कारवाहीको व्यवस्था गरोस् ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि कारवाही गर्नुपर्ने बताए । टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरूलाई छाडेकोप्रति उनले आपत्ति जनाए ।
‘ललिता निवास जग्गा काण्डमा एउटा टिप्पणी उठाएबापत् शाखा अधिकृत जेल जाने तर, निर्णयकर्तासँग बसेर डिनर खाने र निर्णयकर्ताहरू गाडी अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो ?,’ उनले भने, ‘टिप्पणी उठाएर शाखा अधिकृतबाट सहसचिव, सचिवबाट क्याबिनेट गएको छ । त्यसमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।’