काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनिश्चितता नभएको भन्दै विदेशी लगानीकर्ता फर्किन थालेको बताएका छन्। मंगलवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए। उनले अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाए। उनले भने, ‘चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजना आज उनीहरू आफूले गरेको लगानीको सुनिश्चितता नभएपछि उहाँहरू फर्किने कुरा गरिरहनुभएको छ। कतिपय आयोजना फर्काइसक्नुभएको छ। कतिपय फर्किने चरणमा हुनुहुन्छ।
अहिलेको सरकारको प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्ले गठबन्धनका दलले राष्ट्रघात किन गरेको हो? हामी चिन्तित छौँ।’ राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए।