काठमाडौँ / सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेर गल्ती गरेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाको बैठकपछि शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले उक्त धारणा राखेका हुन् ।
एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो ।
उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । उनले भने, ‘गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरु बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौ । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पर्थ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ, एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’
भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।