काठमाडौँ — भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् ।
बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावासका पदाधिकारीहरू, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो ।
यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिविम्बित गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहनासमेत गरेका थिए ।