काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र स्थानीय तहका सरकारी अस्पतालहरुमा पनि जनरल बेड निःशुल्क गरिने जनाएका छन् । सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका अस्पतालहरुसँग समन्वय गरेर सो कार्य अघि बढाइने जनाए ।
बेड निःशुल्क गरेबापतको रकम हाल परिणाम नदेखिएका कार्यक्रमहरुबाट कटाएर अस्पतालहरुलाई दिइने उनले जानकारी दिए । “बेड निःशुल्क गर्दा सरकारलाई भार पर्छ भन्ने सन्दर्भमा अहिले लगानी भएका तर आउटपुट नदेखिएका कार्यक्रममा भएको खर्च कटौती गरेर विपन्न वर्गका लागि छुट्याउने हो,” मन्त्री बस्नेतले भने । हाल संघ स्तरका सातवटा अस्पतालमा दुई हजार २८ वटा जनरल बेड बिरामीका लागि निःशुल्क गरिएको छ ।