काठमाडौं । एउटा सहकारी गीतको बोल छ- ‘गाउँघरमा खोलेको सहकारी, गरिबको भर्नलाई भकारी ।’ तर शहरमा खुलेका केही सहकारीमा गरिब जनताले राखेको थोरैथोरै पैसा अपचलन गरी सञ्चालकहरूले आफ्नो भकारी भरेपछि न्यायको खोजीमा पीडित बचतकर्ताहरू अहिले माइतीघरमा रातदिन धर्ना दिइरहेका छन् ।
आफूले पसिना बगाएर कमाएको सहकारीका सञ्चालकहरूले अपचलन गरी फिर्ता नगरेपछि बचतकर्ताहरू ३० दिनदेखि घाम, पानी, दिन, रात नभनी माइतीघरमा २४ सै घण्टा धर्ना बसिरहेका छन् । मध्य बर्खा छ । दिनदिनै मुसलधारे पानी पर्छ । उनीहरूले ओत लाग्न टाँगेको त्रिपालले पानी थेग्दैन । सडकमा ठूलो भल बग्छ । उनीहरूले बस्न भनेर ओछ्याएको पाल र कालो पोलिथिन फोमको चकटी बगाउँछ । तर आफूले पसिना बगाएर कमाएको पैसा फिर्ता पाउने उनीहरूको विश्वास डग्मगाएको छैन । ‘केही समय त प्रहरीले त्रिपाल टाङ्न पनि दिएन, रुझेरै रात बितायौं । तर अहिले त्रिपाल टाङ्न दिएको छ । पानी नपर्दा खाली आकासमै सुत्छौं । पर्दा त्रिपालमुनि जान्छौं । तर बचत फिर्ता पाउने ग्यारेन्टी नभएपसम्म माइतीघर छोड्दैनौं,’ आइतबार मध्यरातमा माइतीघरमा भेटिएका वृन्द्राराज राईले भने ।
आइतबार राति हामी माइतीघर पुग्दा धर्नास्थलमा भेटिए ललितपुरको इमाडोल बस्ने ओखलढुङ्गाका राई । दैनिक ज्याला मजदुरी गर्ने राईले १८ महिनाअघि छोरी जन्मिएपछि उनको नाममा सन्ध्या बचत तथा ऋण सहकारीमा खाता खोलेर दैनिक ५० रुपैयाँ जम्मा गर्न थालेका थिए । सहकारीले छोरीको हरेक जन्मदिनमा केक पठाइदिन्छ भन्ने आशमा उनले त्यसरी बचत थालेका थिए । त्यसरी छोरीको नाममा भएको बचतले भविष्यमा उनको पढाइमा लगानी गर्न पाइएला भन्ने विश्वास पनि सँगै थियो ।
‘ब्याज धेरै आउला भनेर होइन, घरमा नै पैसा लिन आउने, छोरीलाई वर्थडे केक पनि पठाउने, चाडपर्वमा उपहार पठाउने हुनाले बचत सुरु गरें । सहकारीको व्यवहार मन परेपछि मजदुरी गरेर कमाएको अरु सबै पैसा पनि त्यहीँ राखें,’ उनले भने, ‘मजस्तो गरिबको पैसा खाएर सहकारीका सञ्चालक कार्यालयमा ताला लगाएर भागे ।’
दैनिक मजदुरी गरी कमाएर सहकारीमा राखेको १ लाख २९ हजार रुपैयाँ फिर्ता पाउने अन्य उपाय नदेखेपछि राई एक महिनादेखि माइतीघरमा आएर धर्ना तथा आन्दोलन गरिरहेका छन् । उनीजस्तै करिब २२ सय जना बचतकर्ताको २२ करोड रुपैयाँ अपचलन गरी सहकारीका सञ्चालकहरू फरार भएको उनी बताउँछन् । ‘एकातिर सहकारीमा पैसा फसेको छ, अर्कातिर काम छोडेर सडक आन्दोलनमा आउनुपरेको छ ।’
धादिङका विष्णुप्रसाद रिमालले पनि आइतबार रातभर धर्ना बसेर माइतीघरमा बिताए । आइतबार मध्यरातमा सिमसिम पानी पर्दै गर्दा उनले अनलाइनखबरसँग बताएको पीडा झन् दुःखदायी छ । रिमालले सिन्धुपाल्चोकका अनिल खड्का अध्यक्ष भएको अष्ट बचत तथा ऋण सहकारीमा सहकारीमा उनले साढे चार लाख रुपैयाँ जम्मा गरेका थिए । ‘काठमाडौंको न्यूरोड र कोटेश्वर शाखामा उनले दैनिक ५०० देखि १ हजारका दरले २ वर्षदेखि जम्मा गरेर त्यति रकम पुर्याएका थिए । तर उनको साढे चार लाखसहित सहकारी सञ्चालक फरार भएपछि उनी पनि आफूजस्तै पीडामा रहेका साथीहरूको साथमा माइतीघर आएका छन् ।
उनका १९ वर्षीय छोरालाई क्यान्सर भएपछि उपचारमा करिब २० लाख खर्च भइसकेको छ । उनलाई भविष्यमा अझै जटिल समस्या देखिएला कि भन्ने डर उनलाई छ । त्यस्तो कुनै समस्या पर्योख भने पैसा चाहिन्छ भनेर उनले सानो पसलबाट भएको आम्दानी सहकारीमा राखेका हुन् । तर विगतमा अरनिको यातायातको बसका साहुसमेत रहेका सहकारीका अध्यक्ष खड्काको विश्वासमा उनले पैसा राखेका थिए । सहकारीका कर्मचारी पसलमै आएर पैसा लिएर जाने भएकाले उनलाई सजिलै थियो। पासबुकमा चढाएको पैसा बढ्दै जाँदा उनी खुसी नै थिए । तर अहिले सहकारी बन्द छ । अध्यक्ष खड्का सम्पर्कमा छैनन् । ९० वर्ष काटेका बुबा र आमा गाउँमा छन् भने उनी यहाँ ३ सन्तान र श्रीमती सहित सानो पसल चलाएर बसेका छन् । बच्चा पढाउने शुल्क सहकारीबाट निकालेर चलाउने गरेका थिए । ‘अहिले व्यापारमा पनि मन्दी आएको छ । बचत गरेको पैसा सहकारी सञ्चालक ठगी गरेर फरार भएपछि यतिबेला ठूलो समस्यामा परेको छु,’ उनले भने । सहकारी सञ्चालक खड्का करिब ८ करोड निक्षेपसहित फरार भएको उनले बताए ।
रामेछापका ५९ वर्षिय अर्जुन प्रसाईंको अवस्था पनि कहालीलाग्दो छ । रामेछापको मन्थलीमा रहेको जग्गा र अस्थायी शिक्षक हुँदा जम्मा भएको सञचय कोषको रकम समेत गरेर उनले १० लाख रूपैयाँ उन हाम्रो भविष्य बचत तथा ऋण सहकारी संस्थामा राखेमा थिए । सहकारीका अध्यक्ष को हुन् भने थाहा नभए पनि उपाध्यक्ष कृष्णबहादुर कार्की हुन् भन्ने उनलाई थाहा छ। आफ्नो सबै जायजेथा बचेर आएको १० लाख रुपैयाँ लिएर सहकारी फरार भएपछि उनी घर न घाटको भएका छन् ।
‘रामेछापमा आफ्नो जग्गा बेचेपछि उनलाई घर भएको ठाउँबाट निकालियो। काठमाडौँमा पैसा बचत राखेकोमा सहकारी सञ्चालक नै फरार भए । बचत फिर्ता पाइन्छ कि भनेर काठमाडौँ आएका उनको विगत २ महिनादेखि सडकको बास भएको छ । न्यायका लागि प्रहरी प्रशासन गुहारीरहेका उनलाई न प्रहरीसँग न्याय दिन्छ भन्ने आश छ न सरकारले नै । अब माइतीघरबाटै न्याय पाउने आसमा ५९ वर्षका प्रसाईं सडकमा धर्ना बस्न पुगेका छन् ।
‘४ वर्षको मुद्दती निक्षेपमा १६ प्रतिशत त्रैमासिक रूपमा ब्याज पाउने गरी राखेको हो । ४ वर्ष पुगेपछि म पैसा निकाल्न जाँदा आफैँ नवीकरण गरेको थाहा पाएँ । अनि शंका लागेर फिर्ता मागेँ । वार्षिक १७ प्रशितशत ब्याज दिने लोभ देखायो । त्रैमासिक १६ र वार्षिक १७ प्रतिशत उस्तै हो भनेपछि ठिकै छ भनेर छोडें,’ प्रसाईंले भने ।
उनले अगाड भने, ‘चाबहिलमा रहेको सहकारीको कार्यालय अहिले बन्द छ । सञ्चालकहरू सम्पर्कमा छैनन् । अब मसँग न पैसा छ न बस्ने बास नै । साथमा भएको मोबाइल फोन पनि सडक पेटीमा सुत्दा चोरले उडाइदिएछ ।’
विगतमा चाबहिल क्षेत्रमै सडकमा सुत्ने गरेका प्रसाईं अहिले सहकारीपीडितहरू माइतीघरमा धर्ना बसिरहेका छन् भन्ने थाहा पाएपछि आएका हुन् । अब पैसा फिर्ता नभएसम्म माइतीघर नछोड्ने उनले निश्चय गरेका छन् ।
ललितपुरको देउराली सहकारी र बुटवलको हिमपात बचत तथा ऋण सहकारी दुईवटा सहकारीबाट बचत फिर्ता नपाएका रूपन्देहीको तिलोत्तमाका बिक्रम पौडेल सरकारले आफ्नो बचत फिर्ता गराइदेला भन्ने आशमा ३० दिनदेखि दिनरात नभनी २४ घण्टा माइतीघरमा छन् । ललितपुर देउराली बहुउद्देश्यीय सहकारी संस्थामा उनको २५ लाख र हिमपात सहकारीमा १० लाख रुपैयाँ डुबेको छ ।
देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई सहकारी विभागले अनुसन्धान गरि कारवाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ । पक्राउ गर्न पत्राचार भएको जानकारी पाएपछि पैसा फिर्ता आउँछ कि भन्ने आस पलाएको छ ।
रूपन्देहीका पौडेलले नेपाल प्रहरीको जागिर छोडेर दुबईमा ५ वर्ष मिहेनत गरेर कमाएको रकम देउराली सहकारीमा राखेका थिए । ‘नेपाल पुलिसमा ६ वर्ष ९ महिना काम गरी उपदान लिएर मकाउ जान खोजेको थिएँ । तर मिलेन । त्यसपछि दुबई गएर गार्ड फोर्समा ५ वर्ष काम कमाएको २५ लाख देउरालीमा राखेको थिएँ,’ उनले भने, ‘सुरुमा एभरेष्ट बैंकमा राखेको पैसा उच्च ब्याजको लोभमा देउराली सहकारीमा रकम राखेको हो। एभरेष्ट बैंकमा राख्दा ६.९ प्रतिशत ब्याद दिन्थ्यो सहकारीले १८ प्रतिशत दिन्छु भन्दा कसलाई लोभ लाग्दैन र । बैंकबाट झिकेर २०७५ मा ४ वर्षको लागि मुद्दतीमा राखेको । अहिले न सावाँ न ब्याज भएको छ ।’
सहकारीले पैसा खाइदिएपछि उनको घरबार पनि बिग्रयो। ‘श्रीमतीसँग अष्ट्रेलिया जाने सल्लाह गरेर दुबईबाट नेपाल फर्किएको थिएँ । तर सहकारीले पैसा फिर्ता नदिएपछि घरझगडा परेर श्रीमतफसँग डिभोर्स भयो,’ उनले भने । हाल उनकी पूर्वश्रीमती अष्ट्रेलिया छिन् भने उनी माइतीघरको सडकमा । ‘श्रीमतीलाई सरप्राइज दिउँला भनेर बचत गरेको थिएँ । तर पैसा फिर्ता नभएपछि सम्बन्ध बिग्रियो । दुःख गरेर कमाएको हो । लुटेको होइन, न्याय नपाएसम्म आन्दोलन गर्छौं । यहीँ धर्नामा बस्छौं,’ पौडेल भन्छन्।
अहिले यिनीहरूजस्तै देशभरका २५ सहकारी संस्थाले बचत फिर्ता नगरेकाहरू माइतीघरमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । ओरियण्टल सहकारीले १३ वर्षदेखि बचत फिर्ता नदिएका काठमाडौंको मुलपानीका हरिषचन्द्र श्रेष्ठले यो आन्दोलनका संयोजक हुन् । उनले ओरेन्टल सहकारीमा राखेको ९० लाख रुपैयाँ फिर्ता लिनुपर्ने छ । तर प्रहरी प्रशासनले मात्रै नभएर सर्वोच्च अदालतले पनि पीडितहरूलाई जिताइदिँदा पनि पैसा फिर्ता पाएका छैनन् । यसरी एक्लै लडेर नहुने रहेछ भन्ने निष्कर्ष निकालेका उनले देशभरीको सहकारी पीडितहरूलाई संगठित गरी सहकारी पीडित महासंघ बनाएर त्यसको संयोजकका रूपमा आन्दोलनको नेतृत्व गरीरहेका छन् ।
‘६ महिनादेखि महासंघ बनाएर आन्दोलन गर्ने योजना बनाएका थियौं। २० जेठबाट भने यहाँ निरन्तर २४ घण्टा धर्नामा छौं,’ उनले भने, ‘माग सम्बोधन नहुँदासम्म छाड्नेलावाला छैनौं । २५ वटा सहकारीका पिडित औपचारिक रूपमा आन्दोलनमा र देशभरका १०० भन्दा बढी सहकारीका पीडित सम्पर्कमा हुनुहुन्छ । अहिले काठमाडौं बोलाएका छैनौं, आवश्यक पर्दा ल्याउने तयारीमा छौं,’ उनले भने ।
२०६८ सालमा श्रेष्ठले आफ्नै मिहेनतले जोडेको ४ आना जग्गा बेचेको ६० लाख रूपैयाँ पैसा ओरियण्टल सहमारीमा नै राखेका थिए । तर पैसा राखेपछि एकपटकलाई ६ महिनाको ब्याज मात्रै उनले लिन पाए । त्यसपछि सहकारीमा समस्या परेको चर्चा हुन लागेपछि उनले पैसा फिर्ता लिन गए । तर, सहकारीका एक प्रबन्धक साथीजस्तै थिए। ‘उसले बैंकभन्दा बलियो सहकारी पनि डुब्छ ? भनेपछि आश्वस्त भएँ र पैसा निकालिनँ । तर केही समयमै सहकारी डुब्यो।
केही समयअघि उनको निक्षेप ब्याजसहित ९० लाख पुगेको थियो । अहिले ब्याज समेत थप्दा कति पुग्यो उनीसँग कुनै हिसाब छैन । ‘२०५४ सालदेखि दैनिक २५ रूपैयाँबाट बचत सुरू गरेको थिएँ । २५ बाट ५० हुँदै बचत बढाउँदै गएँ । विभिन्न सडक आयोजनामा काम गरेर कमाएको पैसाले किनेको जग्गा बेचेर एकमुष्ठ ६० लाख राखेको थिएँ। सबै स्वाहा भयो,’ उनले आफ्नो पीडा सुनाउँदै भने ।
आइतबार राति करिब ९ बजे पानी पर्न लागिरहेको थियो । उनी माइतघर मण्डलमै थिए । बिहान ६ बजेदेखि दिनभर यतै छु । यो आन्दोलनलाई निष्कर्षमा नपुर्याउन्जेल पछि नहट्ने अठोट उनमा छ ।
माइतीघरमा सहकारी संस्थाहरूबाट पीडितहरूले २४ घन्टे धर्ना थालेको ३० दिनसम्म पनि राज्यको आँखा नपुगेको भन्दै श्रेष्ठले आन्दोलन अझै चर्काउने बताए । सरकार त आएन आएन, आफूलाई जनताको पक्षमा रहेको बताउने नेता तथा सांसद्हरु पनि एक्यबद्धता जनाउन नआएकोमा सहकारी पीडितहरूले चित्त दुखाएका छन् । ‘केही सांसद आए । चित्रबहादुर केसी, रवि लामिछाने, ज्ञानेन्द्र शाहीलगायत आए। तर, उनीहरूको राजनीतिक स्वार्थ मात्रै देखियो,’ धर्नामा बसेका बचतकर्ता भन्छन्, ‘सहकारीका ठगहरूलाई राजनीतिक दलका नेताहरूले नै संरक्षण गरेका छन् । राजनीतिज्ञको आडमा उनीहरू खुलेआम हिंडिरहेका छन् । अदालतले दोषी ठहर गरेका सुधीर बस्नेत कालो सिसा लगाएर बाउन्स राखेर हिंड्छन् । बचतकर्तालाई उनले पैसा फिर्ता गर्नुपर्छ भनेर सर्वोच्चले फैसाल गरिसक्दा पनि बचत फिर्ता पाएनौं ।’ अनलाइनखबरमा