काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीलाई आग्रह गरेका छन्।
संसद जनअपेक्षाअनुसार चल्न नसकेको आमअनुभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताए। ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणासमेत व्यक्त गरे।
राष्ट्र र जनताको आवश्यकताअनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ थियो।
सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने आवश्यक्ता औंल्याए।
उनले समानुपातिकमा एक पटक ल्याएका महिलाको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरि सांसद बनाउने काम गर्न पनि राजनीतिक दललाई आग्रह गरे।
जनसंख्याको आधारमा पनि महिलालगायत अन्य समुदायको संसदमा समानुपातिक रुपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो।
उपाध्यक्ष अर्यालले तराई, मधेशमा डोमलगायत जातिमाथि भएको उत्पीडन कम हुने गरी कानुन, निर्माण गर्नुपर्नेमा जोड दिए।