भक्तपुर । असार १५ नजिकिँदै गर्दा भक्तपुरका जुजु धौ व्यवसायीलाई चटारो बढेको छ । समान्यतया असार १५ सम्म रोपाइँ सकेर दही चिउरा खाजा खाने चलन चल्दै आएकाले यस दिन दहीको माग बढी हुने भएकाले व्यवसायीलाई दही जमाउन र बजार पु¥याउन चटारो थपिएको हो ।
पछिल्लो समय भने खेतीपाती गर्दै आएका किसानभन्दा पनि खेतीपाती नै नभएका वा नगर्ने सहरवासीले यस दिनलाई दही चिउरा खाने उत्सावका रूपमा मनाउन थालेपछि जुजु धौको माग ह्वात्तै बढ्ने व्यवसायी बताउँछन् । विशेष गरी भक्तपुरको जुजु धौ आफैँमा दहीको ‘ब्रान्ड’ बनेको छ । दहीपारखीले यसलाई उच्च कोटीको दही अर्थात् ‘दहीको राजा’ को मान्यता दिँदै आएका छन् ।
अन्य दिन करिब चार सय लिटर जुजु धौ तयार गरेर बजारमा पठाउँदै आएका भक्तपुर लिवालीस्थित सैँजू दही भण्डारका सञ्चालक रामदेवी सैँजू असार १५ का लागि एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरभन्दा बढी दही बजारमा पठाउने योजनामा छन् । उनले भने, “यो दिन त माग धान्नै सकिँदैन ।” यस्तै अर्का व्यवसायी सुरेश मधिकर्मीले औसतमा दैनिक पाँच हजारदेखि सात हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आइरहेको बताउन्छन् ।
उनले भने, “तर १५ को लागि करिब तीन गुणा बढाउँदा माग पूरा गर्न कठिन हुन्छ ।” भक्तपुरमा जुजु धौको परम्परागत व्यवसाय गर्दै आएका व्यवसायीले दही तयार गर्ने आफ्नै विशेष तरिका छ । उनीहरूका अनुसार जुजु धौ तयार गर्न सबैभन्दा पहिलो करिब पाँच प्रतिशत ‘फ्याट’ युक्त दुधलाई बाक्लो हुने गरी पकाइन्छ । करिब १० लिटर दुधमा बराबर चार केजीका दरले चिनी हालेर नडढ्ने गरी निरन्तर चलाउँदै उमाल्नु पर्छ ।
त्यसरी उमालिएको दुधलाई ४० डिग्री तापक्रम झारेपछि माटोको कतारा वा हाँडीमा आधा हालिन्छ । त्यसमा विशेष गरी तयार पारेको दहीको जोरन हालिन्छ र बाँकी दुध माथिबाट हालेर भाँडो भरिन्छ । अर्को कताराले छोपिन्छ । ती भाँडालाई न्यानोपन दिनका लागि भुसमाथि राखिन्छ र कपडा वा जुटको बोराले ढाकिन्छ ।
करिब चारदेखि पाँच घण्टामा दही जमिसक्छ । त्यसपछि अमिलो हुन नदिन दहीलाई फ्रिजमा राखिन्छ । यसरी जमेको दही भाँडा घोप्टाउँदा पनि नखस्ने प्रकारको हुन्छ । त्यस्तै प्लास्टिकका बट्टामा हाल्दा भने अलि बढी चिसो भएपछि मात्र हालिन्छ । गोरखापत्र दैनिकबाट