काठमाडौं- साविक च्याम्पियन भारतले साफ च्याम्पियनसिपको जारी संस्करणमा प्रभावसालि सुरुवात गरेको छ। बैंगलोर स्थित कान्तिरभा स्टेडियममा बुधबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गरेका थिए। थप एक गोल उदान्त सिंहको नाममा रह्यो।
पाकिस्तानमाथि हावि भएको भारतले खेलको दशौँ मिनेटमानै सुनिलको गोलमार्फत अग्रता लियो। पाकिस्तानी गोलरक्षकको गल्तीको फाइदा उठाउँदै सुनिलले पहिलो गोल गरेका थिए। खेलको १६ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २-० ले अघि रह्यो।
खेलको ७४ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारतले ३-० को अग्रता बनायो। ह्याट्रिक गरेका सुनिलले अन्तराष्ट्रिय करिअरमा ९० औं गोलको कोसेढुङ्गा पुरा गरेका छन्।
भारतको फराकिलो जित निश्चित गर्ने क्रममा ८१ औं मिनेटमा उदान्तले चौंथो गोल गरेका थिए। जितसँगै समूह ‘ए’ मा भारत र कुवेतले विजयी सुरुवात गरेका छन्। पाकिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्ने छ। यसअघि दिनको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो।


