काठमाडौँ– विभिन्न चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित ‘समाजवादी मोर्चा’ घोषणा गरिएको हो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित भएनन्। माओवादीसहित चार राजनीतिक दलले संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न भन्दै समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेका हुन्।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन उनले मोर्चा कसैको विपक्षमा नरहेको पनि दाबी गरेका छन्।
उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै मोर्चामा आउन आग्रह पनि गरे। ‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ’, प्रचण्डले अपिल गर्दै भने ,‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौँ।’
प्रचण्डले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए। ‘कहाँ त्रुटि गर्यौँ, समीक्षा गरौँ। मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौँ कि? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डको भनाइ छ ।
उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे।
हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए।


