मोरङ – कोसी प्रदेशको पहाडी जिल्लामा अविरल वर्षाले पुर्याएको प्रभावबारे स्थलगत निरीक्षणका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाल विराटनगरबाटै फर्किएका छन्।
नेपाली सेनाको हेलिकप्टरमा बाढी र पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि सोमबार पहाडी जिल्ला हिँडेका प्रधानमन्त्री दाहाल आधा बाटो विराटनगरबाटै श्री एयरको विमानबाट काठमाडौं फर्किएका हुन्।
विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले प्रधानमन्त्री दाहाल श्री एयरल्यान्सको जहाजबाट ३ बजेर १५ मिनेटमा काठमाडौं फर्किएको बताए। उनको साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत थिए।
बिहान संखुवासभास्थित बाढी–पहिरोबाट प्रभावितको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री त्यहाँबाट पाँचथर र ताप्लेजुङ पुग्ने तयारीमा थिए। तर, सेनाको हेलिकप्टर पाँचथर र ताप्लेजुङमा खराब मौसमका कारण ओर्लिन नसकेपछि विराटनगर फर्किएका थिए।


