काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपदबाट बच्न एकीकृत बस्तीको आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाउनु पर्नेमा जोड दिएका हुन् ।
‘गाउँका डाँडाँकाडामा भएका बस्तीलाई कुनै जंगलसँग अल्झिएको जमिन छ, भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत, पानी र यातायात पुर्याउने कुरा अगाडि बढायौँ भने एकीकृत बस्तीलाई हामी अगाडि बढाउन सक्छौँ,’ उनले भने, ‘एउटा त्यस्तो प्रकारको अस्पतालमा गएर इमर्जेन्सी वार्ड निर्माण गरेजस्तै बाढी पीडित र प्राकृतिक आपद्जन्य विषयलाई तत्काल सम्बोधन गर्नका निम्ति त्यस प्रकारको मन्त्रालयमा एउटा प्रणालीको व्यवस्था गरियोस् ।’
उनले कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनु पर्ने बताए । उनले प्राकृतिक विपदबाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नु पर्ने बताएका थिए ।
यस्तै, उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनु पर्ने बताए ।
उनले दिगो विकास लक्ष्यलाई भेट्ने सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाही अगाडि बढ्नु पर्ने बताए ।


