काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु भएको थियो भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो ।

उहाँले प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयम्सेवी संघसंस्थामा अपील पनि पनि गर्नुभयो ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘म अस्ति मात्र मेलम्ची गएको थिए त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’’ प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपराह्न काठमाडौं फर्कनुहुनेछ ।


