काठमाडौँ — दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको शुक्रबार पाँचौ चरण समाप्तिमा भारतीय २४१५ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेख साढे ४ अंकसहित शीर्षस्थानमा छन् । भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर २०४६ रेटेड अमिर करिम ४ अंकसहित संयुक्त दोस्रो स्थानमा छन् ।
नुबैरलाई चौथो चरणमा नेपाल च्याम्पियन फिडे मास्टर २१४६ रेटेड रुपेश जैसवालले बराबरीमा रोकेका थिए । नुबैरले पाँचौं चरणमा पूर्व नेपाल च्याम्पियन २०३२ सूरवीर लामालाई हराएका थिए ।
रुपेशले नुबैरसँगको प्रतिस्पर्धात्मक खेलमा कालो गोटी लिएर खेल सुरु गरेका थिए । खेलको मध्यभागसम्म पुग्दा खेल कठिन मोडमा पुगे । दुबै खेलाडीले खतरा मोल्न चाहेनन् र खेलको ३९ औं चालमा बराबरी गर्न दुवै सहमत भए । नुबैरलाई सूरवीरले कडा टक्कर दिए पनि ४४ औं चालमा खेल त्याग्न बाध्य भए ।
उच्च वरीयताका भारतका ग्रान्ड मास्टर सयतनका लागि शुक्रबार दुवै चरण सुखद भयो । उनले चौथोमा बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहम्मदलाई पराजित गरे भने पाँचौंमा नेपालका फिडे मास्टर २०२८ रेटेड क्षितिज भण्डारीमाथि जित आत्मसात गरे ।
पाकिस्तानी २०४६ रेटेड अमिरले पनि दुवै खेलमा सफलता पाए । उनले पाँचौंमा नेपालका १८२८ रेटेड पुरुषोत्तम सिलवाल र चौथोमा बंगलादेशका फिडे मास्टर २२१२ रेटेड हसन पराग मोहम्मदलाई हराए ।
ललितपुरको गोदावरी भइरहेको प्रतियोगितामा नेपालका रुपेश जैसवाल, क्षितिज भण्डारी र बंगलादेशका हसन परागले साढे २ अंक जोडेका छन् भने पुरुषोत्तम सिलवाल र अब्दुल मलेकको २ अंक छ ।
महिलातर्फ चौथो चरण सकिँदा भारतीय आईएम २२२५ रेटेड साक्षी आनान्दले ४ अंक जोडेर एकल अग्रता लिएकी छन् ।
१९१३ रेटेड बंगलादेशकी डिफेन्डिङ च्याम्पियन वाहिदा वादिफा ३ अंककहित दोस्रो स्थानमा छन् ।
नेपालकी महिला राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेड सुजना लोहनी साढे २ अंकसहित तेस्रो स्थानमा छन् । सुजनाका लागि तेस्रो र चौथो चरणको खेल राम्रो भयो । उनले रिया श्रेष्ठले माथि सफलता हात पारिन् भने चौथो चरणमा बंगलादेशकी जन्नत उलसंग बराबरी खेलिन् ।
नेपालका शान्ति धिमाल र रियाले २ अंक बटुलेका छन् ।

