काठमाडौं – पोखरामा शनिबारदेखि तेस्रो संस्करणको प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै छ। प्रदेश खेलकुद परिषद् गण्डकीसँगको सहकार्यमा गण्डकी प्रदेश तेक्वान्दो संघले प्रतियोगिता आयोजना गरेको हो। आइतबारसम्म प्रतियोगिता चल्नेछ।
पोखरा रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा ७ जिल्लाका खेलाडीले प्रीतस्पर्धा गर्नेछन्। कास्कीसँगै तनहुँ, लमजुङ, नवलपुर, बाग्लुङ, म्याग्दी र स्याङजाका ३०० खेलाडी प्रतिस्पर्धामा उत्रनेछन्।
२८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य विशाल बुढा मगर जानकारी दिए। एकल स्पाइरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा हुने उनले बताए। स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ८५ केजीसम्म तौल समूह अनुसार प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ४० देखि ७० केजीसम्म तौल समूहको प्रतिस्पर्धा हुनेछ।
एकल प्याट्रनमा हरियो बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्म प्रतिस्पर्धा हुने बुढाले जानकारी दिए। प्रतियोगितामा १२ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। पहिलो पटक कास्की जिल्लास्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितासमेत हुँदै छ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले बेलाबखतमा हुने प्रतियोगिताले खेलाडीमा उत्साह भर्ने बताए। ‘प्रतियोगिता खेलाडीका लागि महत्वपूर्ण पर्व हो। यो प्रतियोगिताले १० औं राष्ट्रिय खेलकुदमा खेल्ने र संघमा आयोजना हुने विभिन्न प्रतियोगिता खेल्न खेलाडीलाई उर्जा दिन्छ’, उनले भने।
प्रतियोगिताको आयोजना नहुने हो भने खेलाडीको क्षमता नबढ्ने थापाको भनाइ छ। ‘जब हामीले खेलाडीलाई प्रतिस्पर्धाको प्लेटफर्म दिन सक्दैनौं भने त्यो खेलको विकास पनि हुदैन। खेलाडीको प्रतिभाको पनि विकास हुदैन’, उनले भने।


