विराटनगर — रेल विभाग वा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको इन्टरमोडल कम्पनीको व्यवस्थापन दायित्व कसले लिने भन्ने विषय टुंगो नलाग्दा दुई साताअघि थालिएको भारतको बथनाहदेखि साढे सात किमि वरको विराटनगर भन्सार यार्डसम्मको कार्गो रेल सेवाले निरन्तरता पाउन सकेको छैन ।
उद्घाटनमा जेठ १८ मा औद्योगिक कच्चा पदार्थ लिएर आएको रेल जेठ १९ मा फर्केको थियो । त्यसयता कार्गो रेल विराटनगर भन्सार यार्डमा आएको छैन । कार्गो रेल सेवाले निरन्तरता नपाउँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले सस्तो ढुवानी लागतमा औद्योगिक कच्चा पदार्थ आयात गर्न पाएका छैनन् ।
कार्गो रेल सेवा सुरु भएपछि उद्योगी व्यवसायी उत्साहित भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् । तर निरन्तता नपाउँदा निराश रहेको उनको भनाइ छ । रेल आउन भन्सारका तर्फबाट कुनै समस्या नभए पनि पुनः फर्केर नआएको विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले जनाए ।
रेलको व्यवस्थापन हेर्ने छुट्टाछुट्टै निकाय भएको र कसले व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेका कारण भारतबाट कच्चा पदार्थ बोकेर विराटनगर आउने कार्गो रेल आउन समस्या भएको नेपाल रेलवे कम्पनीका निर्देशक निरञ्जनकुमार झाको भनाइ छ । ‘भारतको रेलवे कम्पनीले रेलवेको ट्र्याक र गोदाम नेपाल रेलवे कम्पनीलाई जिम्मा दिएको छ,’ झाले भने, ‘तर त्यसको सम्पूर्ण व्यवस्थापन पक्ष रेलवे कम्पनीले गर्ने वा इन्टरमोडल कम्पनीले गर्ने विषयमा सरकारले टुंगो नलगाउँदा कार्गो रेल सेवाले निरन्तरता पाउन नसकेको हो ।’
सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नतोक्दा र त्यससम्बन्धी विधि नबनेका कारण समस्या सिर्जना भएको उनले बताए । व्यवस्थापनको जिम्मेवारी तोकेर विधि निर्माण गरेपछि कार्गो रेल सेवाले निरन्तरता पाउँछ । त्यसका लागि झन्डै एक महिना लाग्न सक्छ ।
बथनाहादेखि विराटनगरसम्म रेलवेको काम सुरु भएको १२ वर्ष बितेको छ । मोरङको कटहरीसम्मको १८ दशमलव ६ किमि लम्बाइ ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । करिब ४ अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको लिक बिछ्याउनेलगायत काम सुरु गरेको थियो । सन् २०१७ मै निर्माण सकिसक्नुपर्ने थियो । मोरङका कटहरी गाउँपालिका–१ महेशपुरको ६ बिघा जमिनको मुआब्जा विवादले निर्माण कार्य रोकिएको छ ।

