काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट १० जना वकिलहरुले दिनभरि बहस गरेका छन्।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बहसमा खाँणका तर्फका वकिलहरुले एउटा कुरा दोहोर्याइरहँदा न्यायाधीश ‘इरिटेड’ नै भएका थिए।
न्यायाधीश न्यौपानेले आफ्नो दिग्दारीपना र रिस लुकाउन सकेनन्।
दसौँ वकिलका रुपमा मणिराज उपाध्यायले बहस गरेपछि न्यायाधीशले इजलासबाटै भने- ‘अब सकियो होइन?’
तर, खाँणका वकिलहरुको लामो सूची अझै सकिएको थिएन।
पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतले न्यौपानेलाई भने- अझै सकिएको छैन श्रीमान्। हामी पालो कुरेर बसेका छौँ।
खाँण पक्षका वकिलहरुको कुरा सुनेपछि न्यायाधीश न्यौपाने ‘झनन्न’ रिसाए। भने- ‘तपाईँहरुको समय सकियो अब। म तपाईँहरुलाई समय दिन्न भोलि। सबै कुरा आइसक्यो। अब बाँकी प्रतिवादीका तर्फबाट बहस हुन्न।’
फेरि खातीले भने- ‘हामी पाँचजना पालो कुरेर बसेका छौँ श्रीमान। टिफिनअगाडिको समय दिनुपर्छ।’
न्यौपानेले भने- ‘तपाईँहरुसँग अदालत निरीह भयो। लौ, १२ बजेसम्म सक्नुस्। कुरो दोहोर्याउन पाउनुहुन्न नि। ‘
घिमिरेले भने- ‘हामी कुरा दोहोर्याउँदैनौँ श्रीमान।’
न्यौपानेले भने- ‘म भोलि तपाईँहरुको बिद्धता हेर्छु। भोलि सबैको बहस सक्नुपर्छ। यसमै अल्झिएर हुँदैन।’
मंगलबार खाँणका तर्फबाट हरिहर दाहाल, नेरसिंह केसी, महादेव यादव, एकराज पोखरेल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पंकज कर्णलगायतले बहस गरेका थिए।