काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जिल्लाको नयाँ संयोजक चयनका लागि अनलाइन आवेदन आह्वान गरेको छ । पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निस्क्रिय, विवादित र गतिविधि शून्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।
विघटन भएका ती तीन जिल्लाको नेतृत्व गर्न पार्टीभित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभए पनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुला गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
‘नवीन राप्रपा निर्माण गर्ने हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको र राप्रपाको इतिहासमा यस्तो अभ्यास पहिलोपटक गरिएको हो,’ श्रेष्ठले भने ।