काठमाडौं । खुट्टामा गोली लागेर गम्भीर घाइते भएका विकास भगवतलाई थप उपचारका महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पठाइएको छ। पक्राउ गर्न खोज्दा प्रहरीलाई अभद्र व्यवहार गर्दै भागेपछि भगवतलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खुट्टामा गोली लागेपछि घाइते भएका भगवतलाई तत्कालै उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पठाइएको थियो। त्यहाँ केही समय उपचार गरेपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको हो। गोली खुट्टाको नसामा लागेकाले अवस्था गम्भीर देखिएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार भगवत आइतबार बिहान मात्रै भारतबाट स्थलमार्ग हुँदै विराटनगर आएका थिए। त्यहाँबाट उनी प्लेनमार्फत काठमाडौं आएको खुलेको छ। उनले लामो समयदेखि भारतबाट ब्राउन सुगर काठमाडौं ल्याएर बेच्ने गरेको प्रहरीको दावी छ।
‘हामीले गरेको लामो अनुसन्धानबाट भगवत भारतबाट ब्राउन सुगर काठमाडौं ल्याएर बेच्ने गरेको पाइएको छ। उनी काठमाडौं आउँदैछन् भन्ने सूचना आएपछि हामी नियन्त्रणका लागि पुग्दा प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएका हौं,’ लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीले भने।
विमानस्थल अगाडि शम्भूमार्गमा भगवतमाथि गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले एक सय ग्राम खैरो हेरोइन ९ब्राउन सुगर० बरामद गरेको छ। उनले भारतबाट ब्राउन सुगर ल्याउने र काठमाडौंका ग्राहकलाई बेच्ने गरेको बताइएको छ।
विराटनगर एअरपोर्टबाट लागुऔषध नै लिएर उनी काठमाडौं आइपुगेपछि विमानस्थलको सुरक्षामा प्रश्न उठेको छ।