काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले पार्टी निरन्तर जनताको साथमा उभिने जनाएका छन्।
भक्तपुरमा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘जहाँ समस्या, त्यहाँ नेसपा’ हुने उल्लेख छ।
नेसपाले राष्ट्रिय र जनसरोकारका मुद्दामा निरन्तर सार्वजनिक पैरवी गर्ने र आवश्यकताअनुसार स्थानीय, प्रदेश र संघमा आन्दोलन तथा संघर्षका कार्यक्रम सञ्चालन गर्ने पनि भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘हाम्रो पार्टी केही समययता अन्योल र अकर्मण्यताबाट गुज्रिरहेको थिया । यो बैठकपछि त्यसलाई चिरेर हामी गम्भीर आत्मसमीक्षा र आत्मालोचनासहित पार्टीलाई गुणात्मक ढंगले विकास र विस्तार गर्ने र देशमा भरपर्दो नयाँ समाजवादी विकल्प निर्माण गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जाँदै छौं,’ भट्टराईले पेश गरेको प्रतिवेदनमा उल्लेख छ, ‘हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिका पक्षधर हौँ। त्यसैले हामी जनताका स्वयंसेवी सेवक हौँ। नयाँ समाजवाद निर्माणको यात्रा निकै लामो र कष्टसाध्य हुन्छ भन्ने हामीलाई राम्ररी थाहा छ।’
देशमा नयाँ समाजवादी विकल्प निर्माण गर्न आफूहरू प्रतिवद्ध रहेको उनले बताए। ‘हामी अवश्य सफल हुनेछौँ। दृढ विश्वास र हिम्मतका साथ हातेमाले गर्दै आफ्नो गन्तव्यमा अघि बढौं।’
भट्टराईले आफ्ना पार्टीका सांसदहरू सदन र सरकारमा रहँदा स्वच्छ र पारदर्शी छवि कायम गर्न, निरन्तर उत्पीडित जनता र राष्ट्रको हितको पक्षमा काम गर्न ध्यान दिने विश्वाससमेत लिएका छन्।
पार्टीलाई जनस्तरसम्म विस्तार नगरी र युवा पुस्तालाई आकर्षित नगरी समाजवादी पार्टी नबन्ने पनि भट्टराई बताउँछन्।
‘सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कामलाई अभियानका रूपमा सञ्चालन गरिनेछ। पार्टी कमिटी गठन, पुनर्गठन र सदस्यता अभियान सञ्चालन गरिसकेपछि स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म भेला, सम्मेलन गरेर निर्वाचित कमिटी र नेतृत्व निर्माण गरिने छ,’ प्रतिवेदनमा उल्लेख छ।
मनोनीत कमिटी र नेतृत्वको सट्टा छिटो प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेर पार्टीलाई आमूल रूपान्तरण गर्ने भट्टराईको भनाइ छ। ‘पार्टी विधानमा आवश्यक संशोधन गरेर प्रदेश र स्थानीय तहलाई बढी अधिकार सम्पन्न बनाइनेछ। स्थानीय तहदेखि प्रदेश हुँदै संघसम्मको सम्मेलनरअधिवेशनको कार्ययोजना पछि निर्माण गरेर पठाइनेछ,’ उनले भनेका छन्।