काठमाडौं ।प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकाले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले जसले जति पानी निकाल्छ, सोही अनुरूप शुल्क तोक्न पनि उहाँले माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ । यस बारे सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? तर अचम्म त के छ भने जसले जति पानी तानेपनि शुल्क भने वार्षिक २० हजार मात्रै तोकिएको छ । यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोही अनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु ।’’
त्यस्तै, प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले विद्यालय कर्मचारीहरू आफ्नो सेवा, सुविधाको विषयलाई लिएर आन्दोलित भइरहेको भन्दै उनीहरूको माग सम्बोधन गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल विद्यालय कर्मचारी परिषद्ले ७७ वटै जिल्लाहरूमा, शिक्षा कार्यालयहरूमा धर्ना, जुलुस, नारा लगाइरहेको छ । तिनीहरूको माग सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्न चाहन्छु । धेरै दिनदेखि उहाँहरू धर्ना, नारा जुलुस गरिराख्नुभएको छ ।’’
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले सङ्घीयता निजामती सेवा ऐन तुरुन्त ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सङ्घीय निजामती सेवा ऐन ल्याउन जरुरी छ र तुरुन्त ल्याइयोस् । निजामती कर्मचारीहरूको सेवा, सर्त, सुविधा, वृत्ति विकास, सामाजिक सुरक्षा र सेवा प्रवाहमा सुधार गर्दै सुशासनको आधार निर्माण गर्ने, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने र समायोजनका माध्यमबाट प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई मार्गदर्शन हुनेगरी यसै अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गर्दछु ।’’
प्रतिनिधि सभा सदस्य दीपक खड्काले कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातिमा सूचिकृत गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘कुलुङ जातीहरू लगभग २२ जिल्लामा भएका झण्डै डेढ लाख जनसङ्ख्या भएको समुदाय २०५८ सालको सूचिमा आदिवासी जनजातिमा सूचीकृत भएन । कुलुङ जाति र मेवाङ जातिलाई आदिवासी जनजातिमा सूचिकृत गरियोस् ।’’
प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले कृषि अनुदानको दुरुपयोग भइरहेको भन्दै छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि अनुदान दुरुपयोगमा सांसद र मन्त्रीहरू नै संलग्न रहेको बताउनुभयो ।
अर्का सदस्य दीपा शर्माले सरकारले कपास विकास समिति खारेजी गरेकोप्रति आपत्ति प्रकट गर्नुभयो ।
सदस्य दिलेन्द्रप्रसाद बडूले देशको ३५ भन्दा बढी जिल्लामा गाई भैँसीहरूमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा रोकथामका लागि यथाशीघ्र पहल गर्न सरकारसँग माग गर्नुभयो ।
अर्का सदस्य दीपा राईले किराँतीहरूलाई मृत्युपश्चात् दाहसंस्कार गर्न जमिन आवश्यक भएको भन्दै त्यसको निम्ति व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘किराँतीहरूको मृत्यु पछाडि जमिनमा समाधि गरिन्छ । हामीले पशुपतिको मृगस्थलीमा समाधि गर्दै आएकोमा त्यहाँ निस्तेज गरिसकेपछि २०५५ सालमा सरकार र किराँती संस्थाहरूका बीचमा सहमति भएको थियो । ६ महिनाभित्र वैकल्पिक व्यवस्था गरिने । त्यतिन्जेलसम्म त्यहीँ समाधि गर्न दिने भनिएको थियो । आज २५ वर्ष भयो कतिवटा सरकार फेरिए, किराँतीहरू प्रति गैरजिम्मेवार सरकारहरू प्रति खेद प्रकट गर्दै तुरुन्तै २५ वर्ष अघिको सहमतिलाई कार्यान्वयन गरी किराँतीहरूलाई उपत्यकामा जन्मन दिने तर मृत्यु हुन नदिने पीडाको अन्त्य गरियोस् ।’’
सदस्य धवल समशेर जबराले नेपालगञ्जमा गर्मी बढेको भए पनि बिजुली गइरहने समस्या हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले नेपालगञ्ज कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी, बन्दी राखिएको उल्लेख गर्दै निर्माण सम्पन्न भइसकेको क्षत्रिय कारागार सञ्चालन गर्न माग गर्नुभयो ।
अर्का सदस्य प्रभु साहले तराई-मदेशमा घोडगधा(निलगाई)को बिगबिगी भएको बताउनुभयो । उहाँले घोडगधाका कारण किसानको बालीनाली नष्ट भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारसँग माग गर्नुभयो ।
सदस्य प्रेमबहादुर महर्जनले अतिरिक्त हुलाक सेवा खारेजी नगर्न सरकारसँग अनुरोध गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारसँग माग गर्नुभयो । उहाँले यस रोगको सम्बन्धमा यथार्थ तथ्याङ्क संसद्मा पेस गर्न पनि माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य विनीता कठायतले पोर्चुगलमा रहेका नेपालीहरूले त्यहाँ नेपाली दूतावासको माग गरिरहेका भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
त्यसैगरी अन्य सांसदहरूले पनि आफ्नो निर्वाचन क्षेत्र विशेषका कुराहरूलाई संसद्मा उठाउनुभएको थियो ।