काठमाडौं / महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आर्थिक अनियमितताको एउटा घटना सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार हड्डीको समस्या पत्ता लगाउने ‘डेक्सा’ मेसिन खरिद गर्नका लागि त्यहाँ ठूलै आर्थिक खेल भइरहेको छ । यस अघि प्रहरी अस्पताल महाराजगञ्जमा एमआरआई मेसिन खरिदमा न्युनतम १२ करोड आर्थिक अनियमितता गर्न निकै ठूलो प्रयत्न भएको थियो । तर, खबरदारीका कारण आर्थिक हिनामिना हुन पाएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको खबरदारीपछि अस्पतालका ‘मेडिकल डाइरेक्टर’ प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले एमआरआई मेसिन खरिद प्रक्रिया नै रद्द गरेकी थिइन ।
उक्त मेसिन खरिद गर्दा राम्रो कमिसन नआउने भएपछि डाइरेक्टर सिंहले एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाएकी छैनन । जानकारी भए अनुसार डेक्सा जस्ता महंगा उपकरणहरु किन्दा ‘रेडियोलोजिकल फिजिक्स’ मा विज्ञता हासिल गरेका अर्थात रेडियोलोजीका विशेषज्ञलाई राखेर ‘स्पेसिफिकेसन’ बनाउनु पर्ने नियमावली छ । तर, मेडिकल डाइरेक्टर सिंहलगायत सानो समूहले कमिसनको चक्करमा रेडियोलोजीका कुनै पनि विज्ञहरुसँग सामान्य परामर्श समेत नगरी आफू अनुकूल ‘स्पेसिफिकेसन’ बनाई कम गुणस्तरको ‘डेक्सा मेसिन’ खरिद गर्ने तयारी गरिरहेको थाहा भएको छ । कमिसनको लोभमा कम गुणस्तरको उपकरण खरिद गर्दा प्रहरी कर्मचारी र उनीहरुका आफन्त मात्र होइन, सर्वसाधारणलाई समेत ठूलो क्षति पुग्ने पक्का छ । किनभने पछिल्ला दिनहरुमा नेपाल प्रहरीले उक्त अस्पताललाई प्रहरी र उनीहरुका परिवारका अतिरिक्त सर्वसाधारणहरुका लागि समेत उपचार खुला गरेको छ । जसका कारण त्यहाँ सर्वसाधारण समेत उपचारका लागि पुग्ने गरेका छन् ।
जानकारी अनुसार अस्पतालमा गुणस्तरहीन सामान खरिद गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ । कोभिड–१९ को समयमा संक्रमितहरुको उपचारका लागि सरकारले दिएको बजेटमा नक्कली बिल, भौचर बनाएर आर्थिक अनियमितता भएको उजुरी प्रहरी प्रधान कार्यालय र अख्तियारमा समेत परेको थियो । तर उजुरीमाथि अहिलेसम्म छानविन भएको छैन ।मिलोमतोमै गुपचूप पारिएको छ । स्वास्थ्य मंत्रालयको ध्यान यता पुग्ला ?