काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताए।
उनले जनताको हितमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गरे। उनले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गरे।
उनले भने, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन्। सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि। तर, राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ। कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ।’
प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पारे। उनले अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे।


