काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा प्रहरीले सुरुवाती अनुसन्धान टुंग्याउँदै छ। गत चैतदेखि सुरु गरिएको अनुसन्धान सकेर प्रहरीले सम्भवतस् आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदै छ।
२ महिना लामो अनुसन्धानको समयमा टुंगिन लाग्दा आरोपीले नाम लिएका उच्च पदस्थ ९भीआईपी०हरुविरुद्ध भने प्रहरीले प्रमाण नै जुटान सकेन। यो ठगी प्रकरणमा बिचौलियाहरुले हाल पक्राउ परेका बाहेक अझै केही उच्चपदस्थको नाम बयानमा क्रममा लिएका थिए। तर त्यसबारे बयान बाहेक अन्य प्रमाण अहिलेसम्म फेला नपरेको दाबी प्रहरीको छ।
बयानमा नाम लिएकाहरुविरुद्ध दोस्रो चरणको अनुसन्धानमा थप प्रमाण जुटाउने काम हुने र संलग्नता पुष्टि देखिए प्रतिवादी बन्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।
आरोपीहरुले एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद तथा बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको नाम मुछेका छन्। उनीहरुले पूर्वगृहसचिव तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको त गाडीको डिक्कीमै नगद रकम राख्ने गरेको समेत बयानमा उल्लेख गरेका थिए। तर बयान बाहेकको प्रमाण नभेटिएको दाबी प्रहरीले गरेको छ।
बादल गृहमन्त्री भएकै बेला कार्यदल गठन गर्दादेखि नै यो ठगी प्रकरण सुरु भएको थियो। बादलका सुरक्षा सल्लाहाकारदेखि उनका आफ्नै छोराविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ। बादलका छोरा प्रतीक फरार छन्। तर बादलविरुद्ध भने अहिले बयान बाहेक केही प्रमाण नभेटिएको प्रहरीको भनाइ छ।
आरोपीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्रचार्य, एमालेकै नेता तथा पूर्व प्रदेश सांसद डा अजयक्रान्ति शाक्य, बादलकी श्रमती नैनकला थापाको नाम आरोपीहरुले लिएको प्रहरी स्रोतले जनाएको छ।
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।
बिचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो। उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे। उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका बालकुष्ण खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन।
पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर खाणको पालामा नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुल्यो। यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी थियो। यसका लागि उनीहरुले झापा, मोरङका सहायक सिडिओको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका थिए। त्यसका लागि उपसमिति समेत गठन भइसकेका थिए।
तर, तत्कालीन अवस्थामा उक्त विषय विवादमा आइसकेको भन्दै उपसमितिले काम नगरेपछि उनीहरुको योजना सफल हुन पाएन। त्यसपछि नयाँ सरकार गठन भएपछि यो प्रकरण छानबिनको दायरामा आएको हो।


