काठमाडौँ / भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । यसप्रकरणमा सुरुमै पक्राउ परेका केशव दुलाल र सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै सुरुमा नेपाली नेताहरुसँग पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । शरणार्थी समस्या समाधानका लागि त्यतिबेलै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर आग्रह गरेका थिए ।
उनले समेत गरेको व्यस्थापनको लबिङ पछि तत्कालीन गृहमन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरेका थिए । त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो । त्यसको पोल खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जना पक्राउ गरिसकेको छ ।रिजाल पछिल्लो ब्यक्ति बनेका छन् पक्राउ पर्नेमा ।
