काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि पुनर्विचार गर्ने भएको छ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी मात्र निर्णय लिने बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारमा जाने भन्नेमा तत्काल कुनै निर्णय नहुने उनले बताए।
‘हामी अहिले सरकारमा जाने विषयमा कुरा नमिलेको र सरकारलाई दिएको समर्थन पनि कायम राखेको अवस्थामा छौं। अझै केही समय यसरी नै रहन्छौं,’ उनले भने,‘बजेटमा कुनै डिस्टर्ब नहोस् भनेर यस्तो गरेको हो।
त्यसपछि पार्टीको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।
उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए। प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्। मधेस प्रदेशमा पनी जसपाले सकारबाट हटाउन चाहेकोबाहेक अरू विषय आफूले थाहा नपाएको उनले जनाए।
स्रोतका अनुसार मधेस प्रदेशमा जसपाले जनमत पार्टीलाई सरकारबाट हटाउन चाहे पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले भने राख्न चाहेका छन्। मधेस प्रदेशमा जनमतका तर्फबाट २ मन्त्री र १ राज्यमन्त्री छन् भने प्रदेश सभामा उसका १३ सांसद छन्।