काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा आरजु राणा देउवा भागेर सिंगापुर गएको हल्ला निराधार भएको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘‘उहाँ काठमाडौंमै हुनुहुन्छ, सामाजिक सञ्जालमा चलाएका हल्ला निराधार हुन्।’’ डा आरजु सभापति देउवाकी श्रीमती हुन् ।
स्वकीय सचिव देउवाका अनुसार, उनी हिजो कांग्रेस नेता अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज गएकी थिइन्, त्यसपछि हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन र महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सहभागी भई काठमाडौं फर्किएकी छिन् । एउटा युट्युब च्यानलले ‘आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको’ भन्ने सामग्री प्रसारण गरेको थियो ।