काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ व्यक्तिहरू पक्राउ पर्न थालेपछि सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन्। ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो शिलशिला नरोकियोस्।
कुनै हालतमा नरोकियोस्,’ उनले भनेका छन्। नेपाल प्रहरीले आज बिहान पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको थियो। यस्तै नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन्। साथै उनले यस प्रकरणपछि नेकपा एमाले, नेपाली कांग्रेस र प्रधानमन्त्री प्रचण्डबीचको निरन्तरको भेटघाटले अनुसन्धान फितलो नबनाउन पनि खबरदारी गरेका छन्। सभापति लामिछानेले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको जगजाहेर ताण्डवलाई छोडे रास्वपा हेरेर नबस्ने चेतावनी दिएका छन्।