काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि जनाए ।
उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको जनाए। उनले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यकता रहेको जनाए ।
उनले भने, ‘अहिले परिस्थिति नयाँ बनेको छ। हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ।
सरकार राम्राबाहेक नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौँ। सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ।
जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ। सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ।’