काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावलाई प्रभावशाली ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने जस्केलो भनी टिप्पणी गरेको छ ।
प्रतिनिधिसभामा दफावार छलफलका क्रममा रहेको भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी दुई वटा विधेयकमा भ्रष्टाचारमा पाँच वर्षे राख्ने व्यवस्था प्रस्तावित छ । टीआई नेपालले विज्ञप्ती निकालेर दुवै विधेयकमा रहेको भ्रष्टाचारमा पाँच वर्षे हदम्याद रहने प्रस्तावित व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र रहेको र यसले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई फौजदारी कसूर मानी घुस लिने र दिने दुवै पक्षलाई कानूनी दायरामा ल्याउनुपर्ने स्पष्ट उल्लेख गरेको विज्ञप्तीमा भनिएको छ ।
भ्रष्टाचार नियन्त्रणका विभिन्न निकाय र विविध कानूनी प्रावधानका बावजूद नेपालमा ठूला भ्रष्टाचारीहरूले दण्डहीनताको निर्वाध उपभोग गर्दै आएको विज्ञप्तिमा भनिएको छ । दुवै विधेयकहरूले भ्रष्टाचारीलाई उन्मुक्ति दिने थप गल्छेंडाहरूको सृजना नगरोस् भन्नेतर्फ सांसदहरू सजग हुनुपर्नेमा टीआई नेपालले जोड दिएको छ ।
हेर्नुहोस् टीआई नेपालले जारी गरेको विज्ञप्ति