काठमाडौं । मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ ।
भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको साफ च्याम्पियनसिप आयोजना हुँदैछ । साफले सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो ।
यसपल्ट साफ च्याम्पियनसिपमा साफ क्षेत्रका श्रीलंकाबाहेक ६ टिमको सहभागिता रहनेछ । फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले प्रतियोगिता खेल्न नपाएको हो ।
फिफाको पछिल्लो वरीयतामा ९९ नम्बरमा रहेको लेवनान एसियन कपको अनुभव भइसकेको टिम हो । लेवनानले सन् २०१९ मा तेस्रोपल्ट एसियन कप खेलेको थियो ।
साफ च्याम्पियनसिपमा यसपल्ट भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ । वि.सं. २०७८ असोजमा माल्दिभ्समा सम्पन्न १३औं संस्करणकाे फाइनलमा नेपालले भारतसँग ३–० गोलअन्तरको पराजय भएकाे थियो ।