काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा टिम र नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका निकायहरूसँगको समन्वयमा आफ्नो गाडी विमानको ढोकासम्मै पुगेको स्पष्टीकरण दिएका छन् ।
जनकपुरबाट बुद्ध एयरको जहाज चढेर मंगलबार साँझ काठमाडौं ओर्लिएका पूर्वप्रधानमन्त्री खनालको गाडी अनुमतिबिना जहाजको ढोकासम्मै एप्रोनमा पुगेको थियो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार ‘अनुमतिबेगर डोमेस्टिक र्याम्प एरिया प्रवेशसम्बन्धमा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय गौचरलाई स्पष्टीकरणसमेत सोधेका थिए । यसबारे बुधबार नै इकान्तिपुरमा समाचारसमेत प्रकाशित भएको थियो । बिहीबार खनालको सचिवालयले विज्ञप्ति जारी गर्दै समाचारमा उठाइएको विषयबारे ध्यानाकर्षण भएको जनाएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल १९ गते जनकपुरबाट काठमाडौं आउदै गर्दा पहिलेकै सिस्टमअनुरुप नै एयरपोर्टको सुरक्षा टिम र नेपाल नागरिक उड्डयन प्राधिकरण र त्योअन्तर्गत निकायहरुसँगको समन्वयमा पूर्वप्रधानमन्त्रीको गाडी आन्तरिक टर्मिनलसम्म पुगेको हो । यसभन्दा अगाडि पनि कैयौं पटक डोमेस्टिक एयरपोर्टबाट काठमाडौंबाहिर जाने र आउने त्यसै समन्वयको प्रक्रियाबाट अगाडि बढिरहेको अवस्था हो ।’ आफूमात्र नभई सबै पूर्वप्रधानमन्त्रीहरू त्यसैगरी जहाजको ढोकासम्मै गाडी लिएर जाने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘हामी मात्र नभई सबै पूर्वप्रधानमन्त्रीहरूले त्यही सिस्टम अवलम्बन गर्दै आइरहेको अवस्था हो । यदि नियम कानुनमै थिएन भने त्यहाँ जानुपूर्व नै नेपाल नागरिक उड्डयन प्राधिकरण वा अन्य सुरक्षा निकायले हामीलाई किन नरोकेको ? के पूर्वप्रधानमन्त्रीको गाडी जबर्जस्ती त्यहाँ गएको हो र ? एयरलाइन्स र त्यहाँ खटिने सुरक्षा टिमद्वारा नै स्कर्ट गरेर जहाजकै ढोकासम्म किन पुर्याइयो ? नियममा थिएन भने किन यस्तो गरेको ?,’ विज्ञप्तिमा उल्लेख छ । साथै अन्य पूर्वप्रधानमन्त्रीहरू पनि यसैगरी विमानस्थलभित्र प्रवेश गरे पनि खनालसँग मात्रै जोडेर प्रचार गरिएको सचिवालयले जनाएको छ ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसमातहतको निकायले आजसम्म किन यो प्रक्रियालाई देख्न सकेन ? आखिर स्वयं मन्त्रालयबाट समेत भएको त्रुटिलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग किन जोडेर प्रचार गरिएको ? आखिर सबै पूर्वप्रधानमन्त्रीले हामी जस्तै गरेर लामो समयदेखि एयरपोर्टभित्र प्रवेश गरिरहेका छन् । हाम्रो मात्र समाचार किन बनाइयो ?,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

