काठमाण्डौं । किरण श्रेष्ठले शहिद स्मारक ए डिभिजन लिग फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदीको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएका छन् ।
प्रशिक्षक किरणले सोमबार व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएको क्लबले जनाएको छ । मनाङ्गले गत पुसमा किरणलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
उनको प्रशिक्षकत्वमा मनाङ्गले जारी सिजनको ए डिभिजन लिगमा पहिलो चरणको लेगको कुल १३ खेल खेलेको छ । आठ पटकको किर्तिमानी च्याम्पियन क्लबको रुपमा परिचित मनाङ्गले यो सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।
मनाङ्गले पछल्लो समय लिगमा लगातार ६ खेलमा हार व्यहोरिसकेको छ । नेपाली राष्ट्रिय फुटबल टोलिको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेका अनुभवी प्रशिक्षक किरणको नेतृत्वमा रहेको मनाङ्गले लगातार हार व्यहोपछि उनी केहि दबाबमा थिए ।
पछिल्लो ६ खेलमा लगातार हार व्यहारेको मनाङ्ग पहिलो लेगको कुल १३ खेलमा ४ जित, ३ बराबरी तथा ६ खेलमा हार व्यहोर्दै १५ अंकका साथ तालिकाको दशौं स्थानमा रहेको छ ।
यस्तै किरणले अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । श्रेष्ठलाई नेपाली फुटबल क्षेत्रमा उम्दा र सालिन प्रशिक्षकको रुपमा चिनिन्छ ।


