काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको जनाए । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भन्दै अचम्म मान्नुपर्ने अवस्था रहेको जनाए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर गरे । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे । ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं ।
अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रविरुद्ध, जनताले पाएका अधिकारविरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन् । कोही कोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्‚’ उनले भने, ‘नेपाली जनता सजग हुनुपर्दछ ।’
सरकारले केही पनि गर्न नसकेको आरोप लगाउँदै ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन् । मजदुरको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूबीचको एकता सबैभन्दा ठूलो बल भएको उनले स्मरण गराए ।


