काठमाडौँ – बिहानैदेखि पूर्णरुपमा नखुलेको काठमाडौँले गतिलो संकेतहरु दिइरहेको थिएन। तर दर्शक भने सधैँजस्तै स्फुर्ती र आशाका साथ शनिबारलाई सुखद बनाउन कीर्तिपुरतिर लम्किरहेका थिए।
नेपाली क्रिकेट समर्थक नेपाल सेमिफाइनलमा पुगेदेखि नै शनिबारको मौसमलाई लिएर चिन्तित थिए। शनिबार उज्यालो भएसँगै काठमाडौँले क्रिकेटलाई पुग्दो माहोल देला र? भन्ने शंका उब्जिएको थियो। खेल होला, नहोला संशयबीच समर्थक आफ्नो धर्म निभाइरहेका थिए। उनीहरु लामबद्ध भएर मैदान छिरिरहे।
यद्यपि, शुक्रारबार राति वर्षा नहुँदा समयमा नै टस भएर कीर्तिपुरले आफ्नो औपचारिक्ता पूरा गरेको थियो। केही महिनाअघिसम्म नेपालका लागि टस निकै महत्वपूर्ण हुन्थ्यो, किनकि टस जित्नु भनेको नेपालले केही मात्रामा खेल आफ्नो पक्षमा पार्नुजस्तै बनेको थियो। अर्थात् टस जितेर नेपालले बलिङ रोज्नु नियमित कर्मजस्तै बनेको थियो।
तर, पछिल्लो समय नेपालका लागि टस महत्वपूर्ण छैन। केही खेललाई छाड्ने हो भने हरेकजसो खेलमा नेपालले एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धात्मक मानिने स्कोरहरु बनाइरहेको छ। अनि ठूलो मानिएका स्कोरलाई पनि नेपालले सहजताका साथ भेट्टाएर क्रिकेटमा आफ्नो उम्दा र इतिहासकै उच्च लय र छवी प्रस्तुत गरिरहेको छ।
शनिबार पनि नेपाल टस हार्यो। कुवेतले पहिले नेपाललाई ब्याटिङका लागि निम्ता दियो। दर्शकहरु आउने क्रम निरन्तर चलिरह्यो। नेपालले उम्दा सुरुवात गर्यो। उत्कृष्ट ब्याटिङ गर्दै गरेको नेपालको खेल हेर्न टियु मैदान फेरि एकपटक भरिएको थियो। तर मौसम भने अनुकूल बनिरहेको थिएन।
कतिबेला वर्षा होला भन्ने भय र संशय मैदान देखिन्थ्यो। अन्तत आंशकाहरुलाई सत्य सावित गर्दै नेपालले आधा इनिङ पनि नसक्दै वर्षाले खेल रोक्यो। तर दर्शकले आफ्नो धैर्यता गुमाएनन्। छाता भएकाले छाता खोलेर वर्षा रोकिने प्रतिक्षा गरे, नभएकाहरु छाता भएकासँग टाँसिएर ओत लागे। केहीले ज्याकेट खोलेर टाउकोमा राख्दै केही हदसम्म पानीबाट जोगिने प्रयास गरे।
दर्शकको प्रतिक्षाले सार्थकता पायो। करिब दुई घण्टापछि खेल सुरु भयो। नेपालले आफ्नो ब्याटिङ जादु घटेको ओभरमा पनि कायम राख्यो। अनि कुवेतसमक्ष दियो, २ सय ८२ रनको शानदार स्कोरको लक्ष्य। ब्याटिङमा लोभलाग्दो छवि कायम राख्दा केही खेलमा खस्किएको ओपनिङ चल्यो भने मध्यक्रमले पनि उम्दा इनिङ खेल्यो। अर्थात पछिल्लो क्रम नधानिँदा पनि नेपाललाई डर भएन।
जितका लागि पर्याप्त स्कोर बनाएको नेपालका लागि अब प्रतिक्षा थियो टियु मैदानमा बलिङको जादुको। यो पटक प्रशिक्षक मोन्टी देशाईका लागि नेपालसँग राम्रो संयोग मिलेको छ। उनको प्रशिक्षण नेपाललाई यस्तरी फापेको छ कि नेपाली दर्शकले भारतलाई मनपराउने एउटै मात्रै कारण देशाई बनेका छन्।
अनेक कारणले भारतप्रति संशय राख्ने नेपालीहरु देशाईप्रति भने नतमस्तक छन्। उनी नेपाली क्रिकेट समर्थकका लागि सर्वाधिक प्रिय पात्र बनेका छन्। उनलाई वर्षौं यही रुपमा देख्न चाहन्छन् नेपाली दर्शक। यो प्रेमले केही हदसम्म भारतप्रतिको पूर्वाग्रही नजरलाई देशाईले मलम लगाएका छन्।
शनिबार पनि देशाईले टिममा गरेको एक परिवर्तनले ‘भोटेको एक्का’को काम गर्यो अर्थात् गुल्सन झाको स्थानमा मौका पाएका करण केसीले यस्तरी बलिङ गरे कि नेपालले अरु केही ओभर बलिङको मौका पाएको भए खेल समयमा नै जितेर फर्किसक्थ्यो। किनकि ८ ओभर बलिङमानै नेपालले ६ विकेट लिइसकेको थियो भने कुवेतको पछिल्लो क्रम मानसिक रुपमा कमजोर भएर क्रिजमा आइरहेका थिए। अनि नेपालले लिएका ६ मध्ये पाँच विकेट त तिनै करणका नाममा थिए। बलिङको जादुमा दर्शकले केहीअघि रूझेको बिर्सिएर विकेटमा झुमेका थिए।
तर, फेरि एकपटक दर्शकको यो खुसीलाई वर्षाले बिथोल्यो। यो पटकको वर्षा रोकिने खालको थिएन। छिनभरमै टियु मैदानलाई पानीले ढाकिहाल्यो। त्यसपछि थप खेल भएन।
क्रिकेट हेर्ने दर्शकले वर्षाको प्रकृतिलाई नबुझ्ने कुरै थिएन। अम्पायरहरुले खेल रद्द भएको घोषणा गर्नुअघि नै दर्शकले नतिजाको पत्तो पाइसकेका थिए। अनि उनीहरु पाएको खुसीमा चित बुझाएर बाटो लाग्न थाले। यहीबीचमा नेपाली खेलाडीले दर्शकको महत्वलाई नजिकबाट नमन गरे। भिजेको मैदानमा भिजेका दर्शकसामु भिजेरै खेलाडीहरुले अभिवादन र समर्थनका लागि धन्यवाद दिँदै गर्दा एसिया कपको सपना पनि अब नेपालका लागि टाढा छैन।
निरन्तर इतिहास रचिरहेको नेपाल युएईसँगै अब अर्को एक जितबाट नयाँ इतिहास बनाउने छ। पछिल्लो समय युएई नेपालका लागि यस्तो टर्निङ प्वाइन्ट बनेको छ कि उसलाई हराउँदा नयाँ इतिहास बनिरहेको छ।
युएईलाई नै हराएर एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपाल अब फेरि एकपटक युएईलाई हराएर एसिया कपको यात्रा पक्का गर्ने लक्ष्यमा छ। अनि नेपालसँग कमजोर मनोबल बनाइरहेको युएई पनि कम्तिमा नेपालसँगको हारको ‘जिंक’ यो फाइनलबाट तोड्ने प्रयास गर्ने छ। तर त्यसका लागि फेरि पनि वर्षा हुने/नहुने भनेर दर्शकहरुले ‘वेदर फोरकास्ट’ स्क्रोल गर्न थालिसेका छन् र केही हदसम्म वर्षाले बिथोल्ने हो कि भनेर शंका मान्दै छन्।
तर, ढुक्क छन् वर्षा भएर खेल हुन नसके पनि यो पटक प्रकृति पनि नेपालको पक्षमा नै हुनेछ भनेर। किनकि वर्षाले खेल हुन नसके नेपाल एकदिवसीय वरियतामा माथि रहेको आधारमा एसिया कपमा छनोट हुनेछ।


