इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुर न्युक्यासल युनाइटेडसँग फराकिलो हार भोग्न बाध्य भएको छ। आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र पाँच गोल खान पुगेको टोटेनह्याम त्यसपछि केहि समालिएपनि उसले फराकिलो हार टार्न भने सकेन। टोटेनह्यामलाई पराजित गरेको न्युक्यासल म्यानयूलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ।
न्युक्यासलको घरेलु मैदानमा टोटेनह्याममाथि फराकिलो जित निकाल्ने क्रममा ज्याकव मुर्फी र अलेकज्यान्डर इस्कले समान २-२ गोल गर्दा जोलिन्टन र कलुम विल्सनले समान १-१ गोल गरेका थिए। खेलमा दोस्रो मिनेटमानै जाकोबले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए। छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २-० ले अघि रह्यो। नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। १९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४-० को अग्रता दिलाए। खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ५-० को अग्रता दिलाए।
खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अबस्थामा ल्याए। तर खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६-१ को जित दिलाए। फराकिलो हारसँगै टोटेनह्यामको च्याम्पियन्स लिग छनोट संसयमा परेको छ। लिगमा न्युक्यासलले ३१ खेलबाट ५९ अङ्क बनाउँदा टोटेनह्यामको ३२ खेलबाट ५३ अङ्क रहेको छ। चौंथो स्थानमा रहेको म्यानयूको ३० खेलबाट ५९ अङ्क रहेको छ।


