काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दिएको छ।
बुधबार दमौलीमा पूर्वधानमन्त्रीहरु शेरबहादुर देउवा र माधव नेपाललाई समेत लगेर चुनावलाई प्रभावित पार्न खोजेको भन्दै रास्वपाका तनहुँ जिल्ला संयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन्।
तनहुँ १ निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरीमा दाहालले मन्त्री बनाउँछु भनेर चुनावलाई प्रभावित पार्न खोजेककाले कारबाही गर्न माग गरिएको छ। बुधबार दमौलीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताए आफूले मन्त्री बनाउने आश्वासन दिएका थिए।
चुनावमा हेलिकोप्टर प्रयोग गर्नु आचारसंहिता विपरीतको कार्य भएकाले दाहालमाथि छानबिन हुनुपर्ने माग पौडेलले गरेका छन्।
उजुरीमा भनिएको छ, ‘गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुन् र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने आर्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाको ध्यानाकर्षण गराउन चाहन्छौँ।’


