काठमाडौं । प्रतिनिधिसभाका तीन क्षेत्रमा आगामी आइतबार हुने उपनिर्वाचनको सम्भावित परिणामलाई लिएर प्रमुख दलका शीर्ष नेता भयमा देखिएका छन् । उपनिर्वाचनमा आम निर्वाचनको भन्दा कमजोर परिणाम आए ठूला दलको विरासतमा तोडिने र त्यसले दीर्घकालीन प्रभाव पर्ने चिन्ता कांग्रेस, एमाले र जसपाका नेताहरूमा रहेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादीले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको छैन ।
ठूला दलका नेताहरूको नजर चितवन–२ भन्दा पनि तनहुँ–१ र बारा–२ मा केन्द्रित छ । गत मंसिरको आम निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा चुनिएपछि बारा–२ रिक्त भएका हुन् ।
सत्ता गठबन्धनले तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । मंसिरमा भएको निर्वाचन परिणामका आधारमा उपनिर्वाचन आफू अनुकूल भए पनि प्रतिकूलता थपिँदै गएका कारण गठबन्धन दलहरू ढुक्क छैनन् । उनको कसरत मत सुरक्षामा केन्द्रित छ ।
तनहुँको चुनावी सभालाई बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सत्ता गठबन्धन दलका नेताका अभिव्यक्तिले पनि उनीहरू कति दबाबमा छन् भन्ने संकेत गर्छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले उपनिर्वाचनलाई कांग्रेस र गठबन्धनको जितसँग जाडेका छन् । ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, त्यो सुक्नेवाला छ । हामी आँधी–हुरी–बताससँग नआत्तिऔं । दह्रोसँग खडा भएर संविधान, विकास र समृद्धिका निमित्त प्रतिबद्धता व्यक्त गरौं,’ उनले भनेका थिए ।
दाहालले खहरे खोला भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गरेका हुन् । तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई रास्वपाका स्वर्णिम वाग्लेले चुनौती दिइरहेका छन् । गत मंसिरको निर्वाचनमा ६ हजारभन्दा बढी मत ल्याएका पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समूह वाग्लेतर्फ ढल्किएपछि कांग्रेसमा तनाव बढेको छ । एमाले यही मौकामा नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

