काठमाडौँ — सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालयमार्फत बिहीबार सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ ।
देशमा सशस्त्र द्वन्द्व चलेको अवधिमा राज्य पक्ष र विद्रोही पक्ष दुवै पक्षका मानिसहरूले ज्यान गुमाएको र विस्थापित भएको अवस्था भएको र उक्त घटनाबाट भएको धनजनको क्षतिलाई विस्तृत शान्ति सम्झौता र त्यसपछि बनेको संविधान र कानुनले व्यवस्थापन गर्ने सुनिश्चितता प्रकट गरिसकेको लिखित जवाफमा उल्लेख छ ।
‘द्वन्द्वकालमा मारिएका भनिएका सबै मानिसको जिम्मा विद्रोही पक्षले लिनुपर्छ’, भनी विस्तृत शान्ति सम्झौता र सोको आधारमा बनेको संविधानको मर्म र भावना विपरीत एकपक्षीय छ’, लिखित जवाफमा भनिएको छ, ‘हामीविरुद्ध लगातार प्रहार हुन थालेकाले तत्कालीन राज्य पक्षलाई जिम्मेवार नबनाएको प्रसंगमा राजनीतिकरूपले वाद, प्रतिवाद, संवाद गर्ने क्रममा प्रसंगवश व्यक्त भएको अभिव्यक्तिलाई विशुद्ध राजनीतिक प्रसंगमा व्यक्त भएको न्यायिक प्रक्रिया बाहिरको विचार वा अभिव्यक्तिसँग सम्बन्धित विषय मान्नुपर्ने हुन्छ ।’
लिखित जवाफमा भनिएको छ, ‘मिति २०७६/१०/१ गते पाँच हजार व्यक्ति मारेको भनी नैतिक जिम्मेवारी लिने साबिती बयान दिएको र सो आधारमा तत्काल प्रचलित कानुनबमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भनी रिट निवेदकले लिनुभएको जिकिर सम्बन्धमा प्रथमतः रिट निवेदनमा उल्लेख भएजस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था होइन ।’
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई पुनः मिति २०७९ गत फागुन २५ मा परिमार्जनसहित संशोधन विधेयक प्रतिनिधिसभामा पेस भई हाल विचाराधीन अवस्थामा रहेको लिखित जवाफमा बताइएको छ । विधेयकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग वा सत्य निरुपण तथा मेलमिलाप आयोगले मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघनको सम्बन्धमा थप कार्य गर्न सक्नेसमेत व्यवस्था रहेको उल्लेख छ ।
अधिवक्ता ज्ञानेन्द्र आरण, कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा आफूले द्वन्द्वकालमा हत्या भएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने भनी दिनुभएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् थियो । सोही रिट निवेदनमा सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालसँग लिखित जवाफ माग गरेको थियो ।