काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि बृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा बोल्दै ढकालले सरकारसँग यस्तो प्रस्ताव गरेका हुन् ।
उनले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने जनाए। उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने जनाए ।
मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै उनले सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने जनाए ।
नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ । उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए । उनले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने जनाए।


