काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आज (शनिबार) भियतनामसँग पेरिस ओलम्पिक छनोटको दोस्रो लेग खेल्दै छ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
पहिलो लेगमा भियतनामले एकतर्फी जित दर्ता गरेको थियो । पहिलो लेगमा ५-१ ले पछि परेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर छ । प्रशिक्षक अनन्तराज थापाले दोस्रो लेगमा सकेसम्म स्तरीय प्रदर्शन गर्ने बताए । आजको खेलमा कम्तिमा चार-शून्यको गोलले मात्र नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्नेछ ।
भियतनामविरुद्ध यो अन्तरको जित निकै मुस्किल हुने थापाको भनाइ छ । यद्यपि पहिलो खेलमा भएका गल्ती सच्याउने मौकाका रुपमा दोस्रो खेललाई हेरेको उनले जनाए । आगामी जुलाई-अगस्टमा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने फिफा विश्वकप खेल्ने तयारीमा रहेको भियतनामका लागि भने ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न नेपालसँग तीन-शून्यको पराजय पनि पर्याप्त हुनेछ ।