काठमाडौं । गत निर्वाचनमा कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै विद्रोह गरेका चितवनका कांग्रेस नेताहरू उपनिर्वाचनमा भने कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का बनेका छन् । यसअघि टिकट नपाएपछि विद्रोहमा उत्रिएका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर तामाङ र महासमिति सदस्य मिना खरेलले संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा भने कांग्रेसका पक्षमा उभिएका हुन् ।
उनीहरुले उपनिर्वाचनमा आफूहरु कांग्रेस उम्मेदवारमा जितनारायण श्रेष्ठकै पक्षमा रहेकाे जनाएका छन् । मंसिरमा भएको निर्वाचनमा कोइरालाले एमालेसँग गठबन्धन गरेर चितवन–३ मा उम्मेदवारी दिएका थिए भने सापकोटा, तामाङ र खरेलहरूले पनि पार्टी उम्मेदवारका विरुद्धमा लागेको आरोपमा पार्टीबाट कारबाहीमा परेका थिए । नेता कोइरालाले मुलुकलाई संकटबाट मुक्त गर्न फेरि पनि कांग्रेसको विकल्प नभएको पुष्टि भएको भन्दै आफूहरू कांग्रेसमै फर्किएको बताए ।
‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको छ । मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमान सम्मको इतिहासले पुष्टि गरिसकेको छ,’ उनले भने, ‘कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको छ ।’ उनीहरूले संयुक्त विज्ञप्तिमार्फत् मुलुकका गम्भीर समस्याहरूको समाधानका लागि कांग्रेसमा समग्र एकताबद्ध हुनुको विकल्प नभेटेको बताएका छन् ।
कांग्रेसले यसअघिका निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही फुकुवा गर्दै ०७९ को निर्वाचनमा कारबाही परेकाहरूलाई उपनिर्वाचनको भूमिकालाई मध्यनजर गरेर निर्णय लिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि चितवनमा पूर्वसभापति विकास कोइरालालगायतको पनि कारबाही फुकुवा भएको छ ।