काठमाडौं । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको अर्को परीक्षण गरेको छ ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो ।
हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो ।
कोरियाली भाषामा सुनामीलाई हाएइल भनिन्छ । पानीमा लुकेर सत्रुलाई आक्रमण गर्न यसको डिजाइन गरिएको बताइएको छ ।
विश्लेषकहरुले उत्तर कोरिया पानीमुनि उपकरण तैनाथीका लागि तयार छ वा छैन भन्नेमा सन्देह व्यक्त गर्दछन् । यद्यपि, अमेरिका र दक्षिण कोरियाविरुद्ध उत्तर कोरिया आफ्नो विभिन्न किसिमका हतियार प्रदर्शन गर्न उत्साहित रहेको विश्लेषकहरुको भनाइ छ । अमेरिका र दक्षिण कोरियाले पछिल्लो समय ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेका छन् ।
उक्त परीक्षणले पूर्ण रुपमा पानीमुनि सामरिक हतियार प्रणालीको विश्वसनीयता र यसको घातक आक्रमण क्षमतालाई सावित गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले सन् २०२२ मा कीर्तिमानी संख्यामा हतियार परीक्षण गरेको थियो । र यो वर्ष पनि उसले आफ्नो सैन्य गतिलाई कायम राखेको छ ।